६ जना नक्कली छोराले पाए नागरिकता, सातौंको पालामा पक्राउ



मोरङ : दसैँको रमझम सुरु भइसकेको थियो । सेवाग्राहीको चाप कम भएको थियो, कर्मचारी घर जाने हतारोमा थिए । त्यहीवेला विराटनगर–१ का सत्यनारायण पोद्दार छोराको नागरिकता बनाउन मोरङ जिल्ला प्रशासन कार्यालय पुगे ।

५५ वर्षीय सत्यनारायणसँग वडा कार्यालयको सिफारिस थियो । वडासचिवसँगै वडाध्यक्षले हस्ताक्षर गरेका थिए । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’

सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँदै जाँदा त थाहा भयो, उनले नागरिकता लिन आएको सातौँ छोराका लागि रहेछ । 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार झुटो विवरण पेस गरेर नागरिकता बनाउन खोजेको पाइएको छ । ‘झुटो विवरण पेस गरी सिफारिस गराएर नागरिकता लिने प्रयास गरेको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न परिपत्र गरिएको छ,’ सिडिओ केसीले भने ।

सत्यनारायणलाई प्रहरीले २४ असोजमा जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले बताए ।

नक्कली सातौँ छोरा 

प्रहरी स्रोतका अनुसार सत्यनारायणले झुटो विवरण बनाएर नागरिकता बनाइदिएको स्विकारेका छन् । प्रहरीको अनुसन्धानमा पनि उनले अहिलेसम्म सातजनालाई छोरा भनेर नागरिकता बनाइदिएको खुलेको छ ।

उनले नागरिकता बनाइदिएका सातजनामा सेजित पोद्दार, पवन पोद्दार, मिथिलेस पोद्दार, जितेन्द्र पोद्दार, रोशन पोद्दार, धीरेन्द्र पोद्दार र राजेन्द्र पोद्दार रहेका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्