मेलम्चीको मुहान सफा गर्न ठेकेदारसँग सम्झौता



काठमाडौं : बहुप्रतिक्षित राष्ट्रिय गौरबको आयोगजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाले मुहान क्षेत्रमा बाढीले पुरिएको भाग हटाउन ठेकेदारसँग सम्झौता गरेको छ । आयोजना र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच मुहानमा पुरिएको भाग सफा गर्न यही बुधबार सम्झौता भएको हो । सम्झौता अनुसार काम सुरु भएको ९० दिन भित्र मुहानमा पुरिएका ग्रावेलहरु हटाउने लक्ष्य छ ।

आयोजनाका सहायक कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले ९० दिनभित्र काम सम्पन्न गरी अस्थायी रुपमा पानी पथान्तरण गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको बताए । ‘आयोजनाको मुहान क्षेत्रमा पुरिएको डेव्रीज (ग्रावेल) हटाउन ठेकेदारसँग संझौता भएको छ । ठेकेदार तुरुन्तै परिचालन हुने स्थितिमा छन् ।’, सहायक कार्यकारी निर्दशक सापकोटाले बताए ।

उनका अनुसार ठेकेदार कम्पनीले विभिन्न तीन स्थानमा तीन समूह बनाएर काम गर्ने योजना बनाएको छ । त्यस्तै हरेक एक हप्ताको बीचमा कार्य प्रगति बुझ्ने संयन्त्र समेत बनाएको सापकोटाले बताए । गएको असार १ मा अविरल परेको वर्षाका कारण आएको बाढीले मुहानका साथै मुलम्ची बजारमा ठूलै क्षती पुर्याएको थियो । जसका कारण ठूलै जनधनको क्षेती समेत भएको थियो ।

त्यस यता मेलम्ची आयोजनाको काम ठप्प भएको थियो । यस बीचमा क्षतीको विवरण उतार्ने, बाँकी रहेको कामलाई कसरी अगाडी बढाउने भन्ने विषयमा गृहकार्य भएको थियो । सरकारले निर्देशन अनुसार ठेकेदार कम्पनीसँग सम्झौता भएको आयोजनाले जनाएको छ । बाढी आउनु अघि आयोजनाको मुख्य मुहानको काम लगभग अन्तिम चरणमा रहेको आयोजनाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्