महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि



द नेपालटप/समाचारदाता

१० महिनामा पेट्रोलियम पदार्थको भाउ १५ प्रतिशतले वृद्धि भएको छ । नेपाल आयल निगमले महिनैपिच्छे पेट्रोलियम पदार्थको भाउ बढाएर उपभोक्ताको ढाड सक्ने काम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको निगमको भनाइ छ । निगमले यस वर्ष पहिलो पटक ४ वैशाखमा पेट्रोलियम मूल्य वृद्धि गरेको थियो ।

४ वैशाखदेखि यही ५ माघसम्ममा निगमले पेट्रोलियम पदार्थको मूल्य १० पटक बढाएको हो । यो १० महिनामा खाना पकाउने एलपी ग्यासको मूल्य ३ पटक बढाएको छ भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० पटक नै वृद्धि गरेको छ ।

निगमले इण्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ अप्रिलमा पेट्रोलियम पदार्थको मूल्य सूची पठाउँदा बढाएर प्रतिलिटर १ रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको जनाएको थियो । प्रतिलिटर १ रुपैयाँ बढाएर पेट्रोलको मूल्य १ सय २१ र डिजेल १ सय ४ रुपैयाँ कायम गरेको थियो । यसैगरी आन्तरिक हवाई इन्धनमा मूल्य २ रुपैयाँले वृद्धि गरी प्रतिलिटर ७६ रुपैयाँ कायम गरेको थियो । यो १० महिनामा निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर प्र्रतिलिटर पेट्रोलको मूल्य १ सय ३९ रुपैयाँ पुर्‍याएको छ भने डिजेलको प्रतिलिटर १ सय २२ रुपैयाँ पुर्‍याएको छ ।

४ वैशाखको प्रतिलिटर पेट्रोलको मूल्य र यही ५ माघको पेट्रोलको मूल्यसँग तुलना गर्दा यस वर्षको १० महिनामा पेट्रोलको मूल्य १४ दशमलब ८७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी डिजेलमा प्रतिलिटर १४ दशमलब ७५ प्रतिशतले वृद्धि भएको छ ।

वार्षिक रूपमा पेट्रोलियम पदार्थको मूल्य १५ प्र्रतिशतका दर वृद्धि हुने हो भने नेपालीहरूको प्र्रतिव्यक्ति आयले दैनिक गुजारा गर्नसमेत मुस्किल पर्नेछ । पन्ध्रौँ योजना २०७५/०७६ मा नेपालीहरूको प्र्रतिव्यक्ति वार्षिक आम्दानी अमेरिकी डलर १० हजार ४७ रहेको छ । अहिलेको अमेरिकी डलरको नेपाली १ सय १९ रुपैयाँ हो । यो भनेको १ लाख २४ हजार ५ सय ९३ रुपैयाँ हो । यसरी नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने हो भने नेपालीलाई दैनिक गुजारा गर्नसमेत मुस्किल पर्ने देखिन्छ ।

कहिले कहिले बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?

४ वैशाख २०७८ मा निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको थियो । यसैगरी २ जेठमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । ४ वैशाखमा प्रतिलिटर पेट्रोलमा १ सय २१ रुपैयाँ कायम गरेकामा २ रुपैयाँले वृद्धि गरी १ सय २३ रुपैयाँ पुर्‍याएको थियो भने डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६ रुपैयाँ पुर्‍याएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको भन्दै जेठ महिनामा निगमले एक महिनामा २ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको थियो । २ जेठ बढाएको मूल्य फेरि २२ जेठमा बढाएको थियो । २२ जेठमा पनि निगमले प्र्रतिलिटर २ रुपैयाँका दरले नै वृद्धि गरेको थियो । २ रुपैयाँका दरले वृद्धि गरी पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ कायम गरेको थियो भने डिजेल १ सय ८ रुपैयाँ पुर्‍याएको थियो ।

२२ जेठमा बढाएको मूल्य फेरि ९ साउनमा बढ्यो । त्यस बेला पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले बढाएको थियो । फेरि सोही महिनाको २२ गते प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

कोरोनाले देशको अर्थतन्त्रमा ठूलो असर परेको भन्दै निगमले भदौ महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भए पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने जनाएको थियो । फेरि निगमले ७ असोजमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको कारण देखाउँदै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।

यसैगरी निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर वृद्धि हुँदा घाटा थेग्न नसक्ने अवस्था आएको भन्दै कात्तिक महिनामा २ पटक गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले एकै महिनामा ६ रुपैयाँ बढाएको थियो । खाना पकाउने ग्यासमा २ पटक गरी १ सय २५ रुपैयाँ प्र्रतिसिलिण्डर बढाएको थियो । १२ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो भने खाना पकाउने एलपी ग्यासमा ५० रुपैयाँ बढाएको थियो ।

यसैगरी फेरि मूल्य बढाएको २ साता नपुग्दै २४ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको थियो भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँ बढाएको थियो ।

मंसिर र पुस महिनामा भने निगमले २४ कात्तिककै मूल्यलाई कायम गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर आएको भए पनि निगमले मासिक ३ अर्ब ९५ करोड ३४ लाख रुपैयाँ घाटा गएको देखाउँदै पेट्रोलियम पदार्थको मूल्य घटाएन ।

यसैगरी यही ५ माघमा निगम घाटा गएर आईओसीसँग तेल खरिद गर्न ऋण खोज्नुपर्ने अवस्था आएको भन्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले वृद्धि गरी पेट्रोलको १३९ रुपैयाँ, डिजेलको १२२ रुपैयाँ र मट्टीतेलको १२२ रुपैयाँ पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्