राष्ट्रिय महिला हक्की प्रतियोगिताः उपाधि लागि सुदूरपश्चिम र आर्मी शनिबार भिड्ने



वीरगन्ज । वीरगन्जमा आयोजित चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
शुक्रबार वीरगन्जको आदर्शनगर भएका सेमीफाइनलमा खेलमा जित हात पार्दै दुवैले शनिबार उपाधिका लागि हुने फाइनल खेलमा स्थान पक्का गरेका हुन् ।
शुक्रबार भएको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा मधेस प्रदेशलाइ २–० गोल अन्तरले पाखा लगाउदै सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा आर्मीसंगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिमका लागि खेलको ५३औं मिनेटमा लक्ष्मी बम र ५६ औं मिनेटमा सुनिता नेगीले गोल गरेकी हुन् । उक्त खेलको वुमेन अफ दी म्याच नेगी नै घोषित भइन्। यसअघि शुक्रबार नै भएको पहिलो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
एकपक्षीय खेलमा आर्मीका लागि खेलको १७ औं मिनेटमा सिता कुमारी चौधरी २५ औं मिनेटमा अन्जना चन्द ठकुरी र ४६ औँ मिनेटमा नीलीमा पाण्डेले गोल गरेका हुन् ।
पहिलो सेमीफाइनल खेलको वुमेन अफ दी म्याच आर्मीकी सिता कुमारी चौधरी घोषित भइन् ।
प्रतियोगितको उपाधिका लागि यी दुइ बिचको फाइनल खेल शनिवार दिउँसो २ बजे हुनेछ । त्यसअघि तेश्रो स्थानका लागि मधेस प्रदेश र गण्डकी प्रदेशबीचको खेल शनिबार बिहान ९ बजे देखि सुरु हुने नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिल शर्माले जानकारी दिए ।
सामाजिक संस्था सानो पाइलाको सहकार्यमा नेपाल हक्की संघले माघ ४ गते देखि आयोजना गरेको प्रतियोगितामा मधेस प्रदेश , प्रदेश नम्बर १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लबगरी ६ टिमले भाग लिएका हुन् ।
प्रतियोगितको उपाधि विजेताले नगद ५० हजार, उपविजेता टिमले नगद ३० हजार र तेश्रो हुने टिमले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सानो पाइलाका सन्चार संयोजक विवेक कर्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्