खाडी राष्ट्रको भ्रमण गर्न रोक (सूचनासहित)



काठमाडौँ । सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म माघ १८ गतेदेखि भिजिट भिसामा नेपालीहरू मलेसिया र अन्य खाडी राष्ट्रमा जान रोक लगाइएको जनाएको छ ।
‘विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले २०७८७ माघ १८ गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
कोरोनाको नयाँ भेरिएन्ट स्वदेश र विदेशमा पछिल्लो समय तीव्र रुपमा फैलिएसँगै सरकारले जोखिम नियन्त्रणका लागि यस्तो सूचना जारी गरेको जनाएको छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने नेपाली कामदारहरूलाई भने सरकारले रोक लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्