केएमसी र नोबेल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नोबेल र काठमाडौं मेडिकल कलेज केएमसीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई नोबेल र केएमसी मेडिकल कलेजले शिक्षा मन्त्रालयको निर्णय र निर्देशन उल्लंघन गरेकाले गृह प्रशासनमार्फत कारबाही अघि बढाउन आग्रह गरेका हुन् । शुक्रबार गृह मन्त्रालयले पीडित विद्यार्थी, ७ विद्यार्थी संगठनको प्रतिनिधि र शिक्षामन्त्रीसहित छलफल गरेको थियो । छलफलका क्रममा शिक्षामन्त्री पौडेलले निर्णय र निर्देशन उल्लंघन गर्ने कलेजलाई स्थानीय प्रशासनमार्फत कारबाही गर्नुको विकल्प नरहेको औंल्याएका थिए । उनले यसअघि पनि गृहमन्त्री खाँणलाई भेटेर र टेलिफोनमा पनि मेडिकल कलेज संचालक र अतिरिक्त शुल्क असुल्न संलग्नलाई कारबाही गर्न जोड दिँदै आएका छन् ।
उनको आग्रहपछि गृहमन्त्री खाँणले मेडिकल कलेजलाई कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । गृहमन्त्रीले कारबाही प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने आश्वसनसमेत दिएको छलफलममा सहभागीहरुले बताए । यसअघि पनि गृहमन्त्रालयले अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न १२ जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको थियो ।
यी दुई मेडिकल कलेजका विद्यार्थी मंसिर १९ गतेदेखि आन्दोलनमा छन् । विद्यार्थीले अतिरिक्त शुल्क मागेको विषयमा काठमाडौं, भक्तपुर र मोरङ प्रशासनमा प्रमाणसहित उजुरी दिइसकेको छन् । नोबेल कलेजका १० जना विद्यार्थी थप आन्दोलनका लागि शुक्रबार काठमाडौं आएर केएमसीका विद्यार्थीसँगै माइतीघरमा प्रदर्शन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्