कोरोना जोखिमका कारण एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण



ललितपुर : कोरोना जोखिमलाई मध्येनजर गर्दै नेकपा एमाले ललितपुर जिल्ला कमिटीको भर्चुअल रुपमा सपथ ग्रहण गरिएको छ । देशव्यापी रुपमा कोरोनाको ओमिक्रोम भाइरसको माहामारी फैलिएपछि पार्टी पोलिटब्युरो सदस्य तथा एमालेको जिल्लास्थित निर्वाचन समितिको अध्यक्ष मण्डल प्रमुख सुशीला नेपालले पदाधिकारीलाई सपथ ग्रहण गराएकी हुन् । शनिबार विहान आयोजित भर्चुअल सपथ ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन समितिका प्रमुख पुरुषोत्तम ढुङ्गानाले शुभकामना दिएका थिए ।

भर्चुअल कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य हरिकृष्ण व्यंजनकार, केन्द्रीय सदस्य बाबुराम थापा लगायतको सहभागिता थियो । पुसमा सुरु भएको एमाले ललितपुरको आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पुरुषोत्तम आचार्य चयन भएका थिए ।

अधिवेशन लगत्तै कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्था तथा जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्यहरु पनि सङ्क्रमित भएपछि भर्चुअल रुपमा शपथ ग्रहण सम्पन्न भएको एमालेले जनाएको छ ।

अधिवेशन सम्पन्न भएलगत्तै सङ्क्रमित भएका नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य होम आइसोलेसनमा बसेपछि ३० गते तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो । पछिल्लो समय अन्य सदस्यहरुको पनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार भर्चुअल शपथ ग्रहण आयोजना गरिएको जिल्ला अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्