सुर्खेतमा ‘तपाईको मास्क खै ?’ अभियान



सुर्खेत । सुर्खेतमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै ?’ अभियान शुभारम्भ गरिएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार राजधानी सुर्खेतको मंगलगढीबाट तपाईको मास्क खै ?’ अभियानको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाइ यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको तेस्रो लहरबाट बच्न कर्णालीबासी सबैले मास्क लगाई सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी आ–आफ्नो ठाउँमा कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए ।
यो अभियानको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति सुर्खेतको अगुवाइ र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा संचालन भएको हो ।
अभियान अन्तर्गत शुरूको दिन मास्क नलगाई हिँड्नेलाई मास्क वितरण गरिएको र अन्य दिनहरूमा मास्क नलगाई हिँड्नेलाई कारवाही गरिने सुवेदीले बताए । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको उनले बताए । ‘तपाईंको मास्क खै’ कार्यक्रमको शुभारम्भ गदै मुख्यमन्त्री शाहीले मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन, भीडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्नसमेत आग्रह गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्