नेपालका १५ खेलाडीको नाम आईपीएल अक्सनका लागि दर्ता



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता भएको छ ।
यो वर्षको अक्सनका लागि कूल १२ सय १४ खेलाडीको नाम दर्ता भएकोमा १५ जना नेपाली रहेको शनिबार बिसिसिआईले जनाएको छ ।
अक्सनका लागि खेलाडी दर्ता गर्ने समय जनवरी २० अर्थात बिहीबारसम्म थियो । ८९६ भारतीय र ३१८ जना विदेशी खेलाडी अक्सनका लागि दर्ता भएका छन् । अक्सनका लागि दर्ता हुने विदेशी खेलाडीमा सबैभन्दा धेरै अस्ट्रेलियाका ५९, दक्षिण अफ्रिकाका ४८, श्रीलंकाका ३६, इंग्ल्याण्डका ३० तथा न्यूजिल्याण्डका २९ जना रहेका छन् ।
खेलाडीको अक्सन आउँदो फेब्रुअरी १२ र १३ मा बैंग्लुरुमा हुनेछ । त्यसबाट १० टिमले आफ्ना लागि खेलाडी छनोट गर्नेछन् । आईपीएलका हरेक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था छ ।
दुई दिवसीय मेगा अक्सनमा १० टिमले भाग लिने छन् । मेगा अक्सनमा ४१ एसोसिएट देशका २७० क्याप भएका खेलाडी, ९०३ जना अनक्याप खेलाडी दर्ता भएका छन् ।
यस पटक ठूला खेलाडीहरूले यस टुर्नामेन्टमा भाग लिने छैनन् । वेस्ट इन्डिजका क्रिस गेलले मेगा अक्सनमा आफ्नो नाम दिएका छैनन् । यसैगरी अष्ट्रेलियाका मिचेल स्टारक, इंग्ल्याण्डका साम कुरान, बेन स्टोक्स, जोफ्रा आर्चर, जोइ रुट, क्रिस बुकले पनि आफ्नो नाम मेगा अक्सनमा समावेश गरेका छैनन् ।
मेगा अक्सनका लागि जारी २ करोड रुपैयाँको आधार मूल्यको सूचीमा ४९ खेलाडी छन् । सूचीमा १७ जना भारतीय छन् भने ३२ जना विदेशी खेलाडी रहेका छन् । भारतका लागि रवीचन्द्रन अश्विन, श्रीयास अय्यर, शिखर धवन, इशान किशन र सुरेश रैनाको यो सूचीमा परेका हुन् ।
विदेशी खेलाडीमध्ये डेभिड वार्नर, काजिसो रबाडा, डबेन ब्राभो, प्याट कमिन्स, एडम जाम्पा, स्टिभ स्मिथ, शाकिब अल हसन, मार्क वुड, ट्रेन्ट बुल्ड र फाफ डु प्लेसिस छन् ।
सन् २०२२ का लागि आइपिएल ३३ खेलाडीको रिटेन गरिएको छ । ८ टिमले २७ खेलाडीलाई रिटेन राखेका छन् । अर्कोतिर आइपिएलका २ नयाँ टिमले आफ्नो टिममा ६ खेलाडी थपेका छन् । केएल राहुललाई लखनउले आफ्नो टिमसँग १७ करोड रुपैयाँमा ल्याएको छ ।
साथै उनी आइपिएल इतिहासकै सबैभन्दा महंगो खेलाडी बनेका छन् । यसअघि आरसिबीका पूर्व कप्तान विराट कोहलीले पनि सन् २०१८ देखि २०२१ को सिजनसम्म १७ करोड मात्र प्राप्त गरेका थिए । लखनउले केएललाई पनि आफ्नो टिमको कप्तान बनाएको छ ।
आइपिएलको पहिलो ठूलो अक्सन सन् २०१८ पछि हुने भएको हो । आइपिएल २०१८ को मेगा अक्सनमा जम्मा ८ टिम थिए । यसपटक १० टिमले अक्सनमा भाग लिनेछन् । १० टिमले एकसाथ ३३ खेलाडीका लागि ३३८ करोड रुपैयाँ खर्च गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्