पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका नगरप्रमुख चौधरी ‘पार्टी सम्पर्कबाहिर’



मोरङ : पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् । नेकपा प्रदेश १ का सदस्य चौधरी तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका हुन् ।  

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । ‘सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँसँग सम्पर्क स्थापित गर्न काठमाडौं, प्रदेश र सुनसरीका साथीहरूलाई पार्टीले खटाएको छ ।’

इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले पनि केही दिनयता प्रमुखसँग सम्पर्क नभएको बताइन् । ‘उहाँ एउटा कार्यक्रममा भाग लिन नेपालगन्ज जानुभएको छ तर सम्पर्क हुन सकेको छैन,’ उनले भनिन्, ‘शुक्रबार आउने भन्नुभएको थियो, आएपछि घटनाबारे छलफल गर्छौं ।’ चौधरीको मोबाइल स्विच अफ छ ।

चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको भन्दै धम्क्याएका थिए । अनुपमले फेसबुकमा पोस्ट गरेको फोटोमा चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेका थिए । उक्त विषयमा चौधरीलाई फोन गरेपछि नाकको हड्डी भाँचिदिने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्