पाकिस्तानबाट सञ्चालन हुने युट्युब च्यानललाई भारतले प्रतिबन्ध लगायो



नयाँ दिल्ली । भारतीय सूचना तथा प्रसारण मन्त्रालयले आफ्नो देशविरुद्ध दुष्प्रचार र नियोजित झूटो समाचार फैलाएको आरोपमा ३५ वटा युट्युब च्यानल र दुईवटा वेबसाइट ब्लक गरेको छ ।
भारतीय सूचना तथा प्रसारण सचिव अपूर्व चन्द्राले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।
ती सबै वेबसाइट र युट्युब च्यानल पाकिस्तानबाट सञ्चालन भइरहेको उनले बताए । भारतीय गुप्तचर एजेन्सीहरूले त्यस्ता सामाजिक सञ्जालका अकाउन्ट र वेबसाइटमा कडा निगरानी राख्दै यस सम्बन्धमा कारबाहीका लागि मन्त्रालयलाई जानकारी गराएको उनले बताए ।
अपूर्व चन्द्राले ती च्यानल र साइटमार्फत भारतको बारेमा झूटो समाचार फैलाइएको जानकारी दिए । यी च्यानलहरूका सब्सक्राइबर १ करोड २० लाख रहेका छन् । त्यहाँ राखिएका सामग्री १ अर्ब ३० करोड पटकसम्म हेरिएका छन् । त्यस्ता थप च्यानल बन्द अवरुद्ध हुनेछन् ।
३५ युट्युब च्यानल र दुई वेबसाइट ब्लक गर्नुका साथै दुईवटा ट्विटर, दुई इन्स्टाग्राम र एउटा फेसबुक एकाउन्ट पनि बन्द गरिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सूचना प्रविधि (मध्यवर्ती दिशानिर्देशहरू र डिजिटल मिडिया आचार संहिता) नियमावली, २०२१ को नियम १६ अन्तर्गत जारी पाँचवटा अलग–अलग आदेश पालना गर्दै मन्त्रालयले पाकिस्तानबाट सञ्चालन हुने गरेका यी सामाजिक सञ्जालका अकाउन्ट र वेबसाइटहरू निलम्बन गरेको छ ।’
सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले अफवाह फैलाउने खालका यस्ता अकाउन्ट बन्द गर्न आदेश दिएका थिए ।
ती च्यानलमा ‘विपिन रावतको मृत्युमा सरकार जिम्मेवार, विपिन रावतको छोरी इस्लाम स्वीकार गर्दै, उत्तर कोरियाली सेना कश्मीर आउँदै’ भन्ने झूटा समाचार दिइएका हुन्थे ।
भारतीय गुप्तचर संस्थाले ती खातामा निरीक्षण गरिरहेका थिए । कुनै कुनै च्यानल त पाकिस्तानी टेलिभिजनका एङ्करले चलाउने गरेका थिए । ती सबै च्यानलले एक अर्काका विषय वस्तु प्रवर्धन गर्ने गरेको भारतको भनाइ छ ।
सूचना तथा प्रसारण मन्त्रालयले गत डिसेम्बरमा पनि गुप्तचर संस्थाको सहयोगमा २० वटा युट्युब च्यानल र दुईवटा वेबसाइट ब्लक गरेको थियो ।
ती च्यानल र साइटले भारतमा कश्मीर, भारतीय सेना, जनरल बिपिन रावत, राम मन्दिर र अल्पसंख्यक समुदायका बारेमा अफवाह फैलाउने समाचार दिने गरेको भारत सरकारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्