ओखलढुंगामा गुडिरहेकाे जिपमाथि ढुंगा खस्यो, ३ जनाको मृत्यु



ओखलढुंगा : गुडिरहेको जिपमाथि ढुंगा खस्दा ओखलढुंगामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आइतबार बिहान गुडिरहेको बोलेरो जिपमाथि ढुंगा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन् ।

निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्