१० वर्षमा पेट्रोलियम पदार्थको मूल्यमा उथलपुथल



काठमाडौं । पछिल्लो १० वर्षमा पेट्रोलियम पदार्थको मूल्यमा उथलपुथल भएको छ । नेपाल आयल निगमको तथ्यांक केलाउँदा पछिल्लो १० वर्षमा पेट्रोलियम पदार्थको मूल्यमा उथलपुथल भएको पाइएको हो ।

निगमको २०७० फागुन ३० को तथ्यांकअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४० रुपैयाँ थियो भने डिजेलको मूल्य १ सय ९ रुपैयाँ थियो । उक्त मूल्य निरन्तर घटेर २०७४ असारमा प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ र डिजेल ७४ रुपैयाँ पुगेको थियो । निगमको तथ्यांकअनुसार २०७४ असारपछि प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ र डिजेल ७४ रुपैयाँ रहेको र पुनः बढ्दै अहिले पेट्रोलको मूल्य १ सय ३९ रुपैयाँ र डिजेलको १ सय २२ रुपैयाँ पुगेको छ ।

२०७० सालमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहको भनाइ छ । निर्देशक साहका अनुसार २०७० सालमा ब्रेन्ट कच्चा तेल प्रतिब्यारेलको १ सय ५ डलर पुगेको थियो । २०७० सालको तुलनामा अहिले कच्चा तेलको मूल्य सस्तो भए पनि अमेरिकी डलरको मूल्य धेरै माथि पुगेका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

निर्देशक साहले भने, ‘अहिले अमेरिकी डलर १ सय १९ रुपैयाँ पुगेको छ । २०७० सालमा ब्रेन्ट कच्चा तेल प्रतिब्यारेलको १ सय ५ डलर थियो भने अमेरिकी डलर १ को नेपाली मूल्य ८५ रुपैयाँ थियो ।’

अहिले ब्रेन्ट कच्चा तेल प्रतिब्यारेलको करिब ८७ डलर पर्छ तर अमेरिकी डलर १ को नेपाली १ सय १९ रुपैयाँ पुगेको छ । उनले भने, ‘पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थमा भन्सार कर पनि धेरै बढाएको छ । त्यसले पनि नेपालमा तेलको मूल्य वृद्धि भएको छ । २०७० सालमा अहिलेको जस्तो तेलमा भन्सार कर थिएन ।

अहिले सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर भन्सार कर १० रुपैयाँ र पूर्वाधार कर १० रुपैयाँ तथा प्रदूषण कर भनेर १ रुपैयाँ गरी २१ रुपैयाँ बढाएको छ । त्यसैले पनि अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निर्देशक साहको भनाइ छ । उनले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने हो भने उपभोक्ताले सस्तो तेल पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्