राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल



काठमाडौं । शान्ति प्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसंघका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व संस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ ।
मानवअधिकार परिषद्, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिइडीएडब्ल्यू), लागुऔषध नियन्त्रणसम्बन्धी आयोग, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगको सदस्यमा निर्वाचित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने अवसर पाएको छ ।
सिइडीएडब्ल्यको आगामी तीन वर्ष, मानवअधिकार परिषद् र लागुऔषध नियन्त्रण आयोगको आगामी दुई वर्ष, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगमा सदस्यका रुपमा नेपालले यो वर्षभरि विश्वसमुदायसँग नेतृत्व तहमा रहेर काम गर्ने अवसर पाएको छ ।
सन् २०२१ सम्म नेपालले लैङ्गिक समानता तथा सशक्तीकरणका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन), राष्ट्रसंघीय महासभाको आर्थिक तथा वित्तीय समितिको अध्यक्ष र कानुन समितिको उपाध्यक्षका रुपमा काम गरिसकेको छ । नेपालले आफ्नो बहुपक्षीय संलग्नतामा उक्त विश्व संस्थालाई सुधार गर्न र त्यसलाई अझ सक्रिय, प्रभावकारी र सक्षम बनाउनुपर्नेमा जोड दिँदै आएको छ । साथै राष्ट्रसङ्घको बडापत्रलाई आफ्नो परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका रुपमा अँगालेको छ भने उक्त संस्थालाई बहुपक्षवादको केन्द्रबिन्दु मानेको छ ।

प्रतिक्रिया दिनुहोस्