‘फाइभ–जी’ इन्टरनेट परीक्षण गर्दै नेपाल टेलिकम



काठमाडौँ : नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ । टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।

टेलिकमले सोमबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा परीक्षण गरी व्यवसायिक सञ्चालन तयारी गर्ने जनाएको छ । फाइभ–जी परीक्षण सञ्चालन अनुमति माग्दै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७८ साल जेठ १६ गते पत्र लेखिसकेको छ ।

नेपालमा फाइभ–जी परीक्षण गर्नका लागि प्राधिकरणले आवश्यक पर्ने कार्यनीति तयार पारिरहेको छ । टेलिकमले सञ्चालन गरिरहेको फोर–जी परियोजना सम्पन्न हुने चरणमा रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

सेवाग्राहीको फोन ट्यापिङ नगरेको दाबी 

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको फोन ट्यापिङ नगरेको बताएको छ । पत्रकार सम्मेलनमा टेलिकमले सेवाग्राहीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीले सेवाग्राहीको फोन अहिलेसम्म ट्यापिङ नगरेको बताउँदै आगामी दिनमा पनि नगर्ने बताए । उनले भने, ‘अहिले धेरैको जिज्ञासा फोन ट्यापिङको विषयमा छ । तर, हामीले अहिलेसम्म सेवाग्राहीको फोन ट्यापिङ गरेको छैन ।’

उनले नेपालमा फोन ट्यापिङ गर्ने उपकरण नै नभएको स्पष्ट पारे । यसैगरी, फोन ट्यापिङ गर्ने विषय क्षेत्राधिकारमा नपर्ने भएकाले कसैले ट्यापिङ गर्न भनेमा र कल रेकर्ड मागे पनि अदालतको आदेश बिना दिन नमिल्ने प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्