७० वर्षदेखि हजाम पेसालाई निरन्तरता दिँदै आएका ठाकुर परिवारलाई भविष्यको चिन्ता 



जनकपुर : सात दशक पूर्वदेखि सुरु भएको आफ्नो पेसालाई निरन्तरता दिँदै आएका छन् जनकपुरका ठाकुर परिवार । अझै पनि जनकपुरको प्रमुख स्थान मध्येका एक जनक चोकमा कपाल काट्नेदेखि दाह्री, जुँगा मिलाउने कार्य गर्दै आएका छन उनीहरु । 

स्थानिय जोगिन्दर ठाकुरका अनुसार, धनुषा सागर घाटको उत्तरतिर हनुमान मन्दिर छेउँमा उनका स्वर्गिय पिता स्व. देवचन्द्र ठाकुरले ७० वर्ष अगाडीदेखि कपाल काट्ने पेसा सुरुवात गरेका हुन् । 

जोगिन्दर भन्छन्, 'वर्षौँ पहिला जतिबेला जनकपुरमा कपाल काट्ने एउटा पसल थिएन त्यतिबेला देखि मेरो बुवाले यो पेसा सुरु गर्नु भएको हो, उहाँले कपाल काट्नेदेखि जुँगा मिलाइदिनेसम्म गर्नुहुनथ्यो ।'

 उनी अगाडि भन्छन्, 'त्यो समयमा यहाँका ठूलाबडाहरु पनि जनकपुर चोकमा नै कपाल काट्न आउँथे, पहिले जस्तो कमाइ अब कहाँ हुन्छ र, पहिले सबै यतै आउँथे अब ठूलाबडाहरुलाई यहाँ आउन लाज लाग्छ रे, उनीहरु सुविधा भएका ठूला सैलुनमा जाने गर्छन् ।'

जनकपुर वार्ड नम्बर ४ निवासी ५५ वर्षिय राम नारायण ठाकुर पनि आफ्ना स्वर्गिय बुवा देवचन्द्र ठाकुरले सुरुवात गरेको कपाल काट्ने पेसालाई निरन्तरता दिँइरहका छन् । उनले यो पेशा ३० वर्षदेखि गर्दै आएका छन् ।  

राम नारायण भन्छन्, 'एक दिनमा ४० देखि ५० जनासम्मको कपाल काट्ने, दाह्री,जुँगा मिलाउने गर्छु ।' पहिले जस्तो व्यापार नभएको अनुभव सुनाउँदै उनी भन्छन्, 'कुनै दिन ७ सय कमाई हुन्छ त कुनै दिन ५ सय पनि हुँदैन् ।'

जनकपुरमा नाउ पेसा चलाएर बसेका भारतको बिहार-मेघपुरका ५७ वर्षिय नागिन्द्र ठाकुरले पनि पनि आफ्नो बुवाले सुरु गरेको यो पेसालाई निरन्तरता दिँदै आएका छन् । ४० वर्ष अगाडि काम सुरु गर्दा उनले बिस पैसामा दाह्री काट्ने गरेको बताउँछन् । उनले त्यो समय सम्झिदैँ भने, 'दाह्री,कपाल दुबै काटेको २ रुपैयाँ लिने गर्थेँ, अहिले दाह्री, कपाल दुबै काटेको ५० रुपैयाँ लिने गर्छु, दिनमा ५ सयदेखि ७ सय रुपैयाँसम्म कमाइ हुन्छ ।'

यसरी नेपाल र भारतका विभिन्न ठाउँबाट आएका ठाकुरहरुले जनकपुर चोकमा नाउ पेसालाई अंगाल्दै आएका छन् । 

यी ठाकुर परिवारहरुले आफ्नो पुर्ख्यौली पेसाबाट घर चलाउनुकासाथै बालबच्चाको पठनपाठनसम्म गर्दै आएका छन् । आफूहरुलाई बुढेसकाल लाग्योे, आफ्ना छोरा नाती भने चोकमा बसेर कपाल काट्न लजाउँछन्, आफ्ना बाउ बाजेले सुरु गरेको पेसाले निरन्तरता पाउन सक्दैन कि भन्ने उनीहरुको चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्