नोबेल र काठमाडौं मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग



काठमाडौं । सत्तारुढसहित विभिन्न आठ विद्यार्थी संगठनले विद्यार्थीसँग मनपरी शुल्क लिने काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरको सम्बन्धन खारेज गर्न माग गरेका छन् ।
नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले संयुक्त वक्तव्य निकालेर कांग्रेस नेता सुनिल शर्मा सञ्चालक रहेका दुवै कलेजको सम्बन्धन खारेजी अघि बढाउन माग गरेका हुन् ।
आइतवार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकपछि गैह्रकानूनी र गुण्डागर्दी शैलीमा विद्यार्थी लुट्ने काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरिएको जानकारी पनि अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले दिए ।
‘एमबीबीएस, बीडीएस र बीएनसका विद्यार्थीहरूबाट गैरकानुनी र गुण्डागर्दी शैलीमा विभिन्न बहानामा अतिरिक्त शुल्क नलिन र चर्को मूल्यमा नियम विपरीत छात्रावासलाई अनिवार्य बनाउने निर्णय खारेज गर्न जोडदार माग गर्दछौं’, उनीहरुले भनेका छन्, ‘विद्यार्थीहरुको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीको सहज पठनपाठनको वातावरण नबनेसम्म काठमाण्डौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न पनि माग गर्दछौं ।’
सत्तारुढ दलनिकट विद्यार्थीहरुले चरणवद्ध आन्दोलन पनि घोषणा गरेका छन् । उनीहरुले केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रकृया अगाडि बढाउन पनि गठबन्धन सरकारसँग माग गरेका छन् ।
विद्यार्थीहरुले सोमबार पनि सिनामंगलस्थित केएमसी अगाडि प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी भिड तितरबितर बनाउने कोसिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्