देशभित्रको स्विट्जरल्यान्ड म्याग्दी, मनै लाेभ्याउने ठाउँ



म्याग्दी : म्याग्दी जिल्ला सुन्दर गन्तव्यका रूपमा परिचित छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणबाट प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीमा पछिल्लो समय आन्तरिक एवं वाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ।

आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ। हिमाली जिल्ला म्याग्दीमा घुम्ने, पदयात्रा गर्ने, आरोहण गर्ने, प्रकृतिको सौन्दर्य अवलोकन गर्ने हिमाल, झरना, पदमार्ग, धार्मिक तथा पर्यटकीय स्थल, बाइसे–चौबीसे राज्यका पालाका दरबार, कोत मन्दिर र तातोपानीका कुण्डलगायत प्रशस्त छन्।

म्याग्दी जिल्ला

समुद्र सतहबाट ७ सय ९२ मिटर उचाइमा रहेको रत्नेचौरदेखि ८ हजार १ सय ६७ मिटरको उचाइमा अवस्थित अग्लो हिमशिखर धौलागिरिसम्म म्याग्दी जिल्ला फैलिएको छ। जलाधार क्षेत्रका आधारमा म्याग्दीलाई कालीगण्डकी, रहुघाट र म्याग्दी खोलासहित ३ क्षेत्रमा विभाजित छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ नेपालमा छन्। तीमध्ये म्याग्दीमा सातौं अग्लो टाकुरा धौलागिरि ८ हजार १ सय ६७ मिटर र ८ हजार १ सय ६४ मिटर अग्लो अन्नपूर्ण छन्। यसैगरी नेपाल पर्वतारोहण संघका अनुसार ६ हजार मिटरभन्दा अग्ला ५१ वटा हिमाल म्याग्दीमा छन्। धौलागिरी, अन्नपूर्णसहित मानापाथी, चुरेन, गूर्जा, निलगिरि, मुना, पुठा, सीता हिमाल यहाँ छन्। धौलागिरि हिमशृंखलामा नै ६ चुचुरा छन्। यस्ता छन् म्याग्दीका केही पर्यटकीय स्थल।

सदरमुकाम बेनीबजार

राजधानी काठमाडौंबाट २ सय ८५ किलोमिटर, गण्डकी प्रदेशको राजधानी पोखराबाट ८० किलोमिटर पश्चिममा पर्छ म्याग्दी जिल्ला। पूर्वमा पर्वत, उत्तरमा मुस्ताङ र डोल्पा, पश्चिममा रुकुम तथा दक्षिणमा बागलुङ जिल्ला पर्ने म्याग्दीको सदरमुकाम बेनीबजार हो। हिमालपारीको जिल्ला मुस्ताङको मुख्य प्रवेशद्वारका रूपमा पनि बेनीबजारलाई लिइन्छ।

‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाली रुमाल’ बोलको गीतले समेत चर्चित बेनीबजारमा बास बसेर धेरै ठाउँ घुम्न सकिन्छ। बेनीको ३ किलोमिटर उत्तरमा छ– प्रसिद्ध गलेश्वर मन्दिर। सदरमुकाम बेनीबजारको आसपास बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बुद्ध विहार, महारानीथानलगायत धेरै धार्मिक क्षेत्र छन्। बेनीनजिकै पर्यटकीय स्थल लभ्ली हिल छ। बेनीमा अहिले अग्र्यानिक उत्पादनका पसल पनि सञ्चालनमा छन्।

घोरेपानी र पुनहिल

जिल्लाको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिमा–६ घारमा पर्ने घोरेपानी र पुनहिल म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्य हुन्। घोरेपानी समुद्र सतहदेखि २८ सय ७४ मिटर उचाइमा स्थित छ। घोरेपानीको शिरमा ३ हजार २ सय १० मिटर अग्लाइमा पुनहिल पर्छ। बेनीबाट सवारीसाधनमा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख–चित्रे हुँदै घोरेपानी पुगिन्छ। त्यस्तै कास्कीको नयाँपुल, घान्द्रुक भएर पनि घोरेपानी र पुनहिल पुग्न सकिन्छ।

बेलुका घोरेपानीमा बास बसेर बिहान सबेरै पुनहिल पुगेर सूर्योदय, हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, गूर्जा, मानापाथीलगायत दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ। संसारको सबैभन्दा ठूलोमध्ये एउटा गुराँसे जंगल यसै क्षेत्रमा पर्छ। यहाँ २७ प्रकारका लालीगुराँस पाइन्छन्। पर्यटकको रोजाइमा पर्छ घोरेपानी। घोरेपानीमा पछिल्लो समय स्वदेशी पर्यटकको बाहुल्यता बढ्दै जान थालेको छ।

खयरबराह मन्दिर र खोप्रालेक

अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्वारस्थित अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल हो– खयरबराह मन्दिर र खोप्रालेक। म्याग्दीको बेनीदेखि करिब ४ घण्टाको कच्ची मोटरबाटो यात्रापछि मन्दिर पुग्न २ दिन यात्रा गर्नुपर्छ। खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरिएको छ। खोप्रालेक पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्दै गएको छ।

अन्धगल्छी र रुप्से झरना

संसारकै गहिरो अन्धगल्छी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्छ। मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटक अवलोकन गर्छन्। शालिग्राम पाइने विश्वको एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराइ ६ हजार ९ सय ६७ मिटर छ। संसारको सातौं अग्लो शिखर धौलागिरि र अन्नपूर्ण हिमालको बीचमा पर्ने गल्छी समुद्र सतहबाट १२ सय मिटरमा अवस्थित छ। गल्छी अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक दैनिक यहाँ जाने गरेका छन्।

अन्धगल्छीदेखि केही माथि रहेको मनै लोभ्याउने सुन्दर प्राकृतिक रुप्से छहरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर, मनमोहक र आकर्षक छ। यो छहरा समुद्र सतहबाट झन्डै १८ सय मिटर उचाइमा छ। सरकारले छहराको हुलाक टिकटसमेत प्रकाशन गरिसकेको छ। बेनीबजारबाट ३० किलोमिटर उत्तरपूर्वमा पर्ने रुप्से छहरा र अन्धगल्छी पुग्न करिब १ दिनको पैदलयात्रा गर्नुपर्छ। बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत ३ घण्टामा सजिलै पुग्न सकिन्छ। मुस्ताङ जाने पर्यटक सवारी रोकेर झरनामा तस्बिर खिचाउँछन्।

लभ्लीहिल (प्रणय शिखर)

पछिल्लो समय पर्यटकीयस्थलको चर्चा बटुलेको छ लभ्लीहिल (प्रणय शिखर) ले। ‘मायालु डाँडा’ अर्थात् लभ्लीहिलका नामले चर्चित यहाँ खासगरी युवायुवती र तन्नेरीको भीड लाग्छ। बेनीबजार नजिक पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौं पर्यटकको चहलपहल हुन्छ। लभ्लीहिलमा रेलिङ, आराम गर्न बेन्च र गोलघर बनाएपछि पर्यटक अझै बढेका छन्।

बेनीदेखि आधा घन्टामा पुग्न सकिने लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ। यसैगरी म्याग्दी जिल्लाको अधिकांश भूभागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तसमेत अवलोकन गर्न पाइन्छ। बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको यस ठाउँबाट अवलोकन गर्न सकिन्छ।

भकिम्लीको स्वर्गाश्रम

गाउँको शिर र वरिपरिबाट सप्तरंगी डाँडाकाँडाले घेरिएको पर्यटकीयस्थल भकिम्लीको स्वर्गाश्रम म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा पर्छ। स्वर्गाश्रमबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े, गूर्जा, चुरेन, बेहुला–बेहुली नामकरण गरिएका हिमाल देखिन्छन्। यहाँबाट धौलागिरी र अन्नपूर्ण रेन्जका सबै हिमशृंखला देखिनुका साथै यस ठाउँबाट डेढ दर्जनभन्दा बढी हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। स्वर्गाश्रम नजिकै तपस्याका लागि ओढार पनि छ। विभिन्न समयमा ऋषिमुनि र माता आएर तपस्या गर्ने स्वर्गाश्रममा आन्तरिक र वाह्य पर्यटक जाने गर्छन्।

बेलढुंगा (पत्थर)

बेलको जस्तो आकारको रुपमा रहेको हुँदा भकिम्लीको शिरमास्थित शिलालाई बेलढुंगा भनिन्छ। म्याग्दी र छिमेकी जिल्ला बागलुङको सिमानामा पर्ने बेलढुंगाबाट बागलुङकै काठेखोला गाउँपालिकाको धम्जा तथा घुम्टेको लेक, गाजाको धुरी र म्याग्दीका अधिकांश भूभाग देखिन्छन्। बेनीबजारबाट ३ कोस टाढाको भकिम्ली गाउँदेखि १ घण्टाको दुरीमा स्थित बेलढुंगा पर्यटकका लागि निकै आकर्षक गन्तव्य मानिन्छ। बेनीबजारबाट सवारीसाधनमा डेढ घण्टा त्यसपछि एक घण्टा पैदलयात्रा गरेर पुग्न सकिने यहाँबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुलीसहित दर्जनौं हिमालका साथै अनेकौं सुन्दर, आकर्षक र मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।

जगन्नाथ मन्दिर

कुखुरापालन र मदिरा निषेधित गाउँको परिचय बनाएको म्याग्दीको गाजनेमा छ– प्रसिद्ध जगन्नाथ मन्दिर। बेनी नगरपालिकाको वडा नम्बर ५ गाजनेमा पर्ने नेपालमै फरक स्वरूपको करिब ५ सय २५ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्ति छन्। बाइसे–चौबीसे राज्यका पालामा गाजनेमा १४औं शताब्दिताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर मन्दिरको स्थापना गरेको किम्बदन्ती छ।

गुफाको डाँडो

बेनीबजारदेखि ३ घण्टाको पैदल दुरीको जगन्नाथ मन्दिरमा सवारीसाधनमा एक घण्टामा सजिलै पुग्न सकिन्छ। पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडाबाट झन्डै दुई दर्जन हिमाल देखिन्छन्। हिमालको साथसाथै यहाँबाट म्याग्दी जिल्लाको साबिकका ४१ गाविसमध्ये ३६ गाविस अवलोकन गर्न सकिन्छ।

निस्कोटको बराहताल

हिमालसँगै पौडी खेल्न मिल्ने ताल हो पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने निस्कोटको बराहताल। यो बराहताल र तालको आसपासबाट मनोरम हिमशृंखला देखिन्छन्। बराहतालमा देखिने वनजंगल र हिमालका प्रतिबिम्ब (छाया) निकै आकर्षक र मनमोहक लाग्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृष्यले सबैलाई अचम्भित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहताल हेर्नकै लागि त्यहाँ पुग्ने गरेका छन्।

तातोपानी कुण्ड

प्राकृतिक चिकित्सालयमा विकसित हुँदै गैरहेको तातोपानी कुण्ड सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४ सिंगामा छ। चिसोका कारण हुने सबै प्रकारका रोग निको हुने भएपछि तातोपानी कुण्डमा दिनहुँ स्वदेशी र विदेशी पर्यटक तथा बिरामीको भीड बढ्दै जान थालेको छ । पर्यटकीय हिसाबले पनि तातोपानी कुण्ड आकर्षणको केन्द्र बनेको छ।

तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथ, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हाडको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास छ। कुण्डमा उपचार गराउन आउने पर्यटकले तातोपानीमा पछिल्लो समय होटल व्यवसाय फस्टाउँदै गएको छ भने होमस्टेसमेत सञ्चालनमा आएका छन्। तातोपानी कुण्डमा मात्रै वार्षिक झन्डै २० हजार पर्यटक आउने गरेका छन्।

गलेश्वर मन्दिर

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो– म्याग्दीको गलेश्वर मन्दिर। बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा छ। सत्ययुगमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहेको किम्बदन्ती छ। मन्दिर नजिकै कहिल्यै नसुक्ने जलबराह कुण्डसमेत छ।

पौलस्त्य पुलहाश्रम

पौलस्त्य ऋषिका नाति लंकाका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य–पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्छ। राउन्ड धौलागिरी बेसक्याम्पसम्म पदमार्ग पु¥याउन धार्मिकस्थल पौलस्त्य–पुलहाश्रम हुँदै अघि बढाउन निरन्तरता दिइने भएको छ। पौलस्त्य मन्दिरनजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) पनि रहेको छ । विश्वका १५ पवित्र धार्मिक तीर्थस्थलमध्ये एउटा पौलस्त्य मन्दिरबारे श्रीमद्भागवत पुराणमा पनि उल्लेख पाइन्छ। यहाँबाट पनि मनोरम हिमशृंखला देखिन्छन्।

टोड्के क्षेत्र

रैथाने मूला, आलु, धजरालगायत पाइने टोड्के पर्यटकीय स्थल हो। मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले सम्भावनायुक्त क्षेत्रका रूपमा चिनिन्छ।

टोड्केमा म्याग्दीसहित स्वदेशी र विदेशी पर्यटक जान थालेका छन्। टोड्केको धुरीबाट म्याग्दीको अधिकांश भूभागका साथै मुस्ताङ र पर्वतका डाँडाकाँडासमेत देखिन्छन्। टोड्केमा हेलिप्याड पनि छ। टोड्के वनभोज खान, घुमफिर गर्न र स्थानीय उत्पादन किन्न उपयुक्त छ।

स्वर्गद्वारी आश्रम

पर्यटकीय क्षेत्र टोड्केमा सय वर्ष पुरानो धार्मिकस्थल स्वर्गद्वारी आश्रम पनि छ। आश्रममा देशका विभिन्न ठाउँबाट समय समयमा ऋषिमुनि आएर तपस्या गर्ने गरेका छन्। प्युठान जिल्लाको प्रसिद्ध स्वर्गद्वारी मन्दिरको शाखा मानिने टोड्केको स्वर्गाश्रम आसपासमा अन्य धार्मिक संरचनाको पनि निर्माण भएका छन्।

पछिल्लोपटक पर्यटक लक्षित गरेर टोड्के नजिकै पूर्ण र झिँ गाउँमा होमस्टे सञ्चालन गरिएको छ। टोड्केमा स्थानीयले रिसोर्ट निर्माण गरिरहेका छन्। आश्रमबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे नजिकै देखिने भएकाले यो क्षेत्र ऋषिमुनिले धेरै मन पराएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्