वर्तमान गठबन्धन निर्वाचनसम्म लगे कांग्रेसलाई घातक हुने शेखर समूहको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी गरेको निष्कर्ष निकालेको छ ।
कोइराला समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले पार्टीभित्र छलफल नै नगरी मनोमानि ढंगले सत्ता गठबन्धनभित्र मात्र छलफल गरेको भन्दै असन्तुष्टि जनाएको छ । बैठकले वर्तमान गठबन्धन निर्वाचनसम्म लगे कांग्रेसलाई घातक हुने निष्कर्ष पनि निकालेको छ ।
समूहले निर्वाचनजस्तो राष्ट्रिय महत्वको विषय पार्टीको केन्द्रीय समितिमा छलफल नभइ गठबन्धनका नेताहरूमाझ मात्र सभापतिले सीमित गर्नु बिडम्वना भएको टिप्पणी गर्दै पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापहरूमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग राखेको छ ।
भर्चुअल बैठकबाट शेखर समूहले वर्तमान सरकारले संवैधानिक मर्म अनुरूप नै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । साथै अब हुने तीनै तहको निर्वाचनमा गठबन्धनको भारी बोक्न नहुने बैठकले निर्णय पनि गरेकोछ ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले पार्टीभित्र न्यायीक साझेदारीको अवसर सभापति देउवाले उपलव्ध नगराएको भन्दै आक्रोश पोखेका थिए ।
यस्तै शेखर समूहबाट जितेका उपसभापति, महामन्त्री, सहमहामन्त्री पदाधीकारीहरूसँग सभापतिले छलफल र सरोकार नराखेको विषयमा समेत छलफल भएको थियो ।
बैठकमा कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसीलगायतका नेताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्