प्रचण्ड भेट्न खुमलटार पुगे वर्षमान पुन



काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन् । लोमाे उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न उनको निवास (खुमलटार) पुगेका हुन् ।

श्रीमती ओनसरी घर्तीसहित खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनका परिवारका सदस्यले पुनलाई खादा लगाएर स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । सोमबार स्वदेश फर्केलगत्तै पुनले पार्टीको महासचिवमा आफ्नो दाबेदारी रहने बताएका थिए। विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको उनको भनाइ छ।

आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताएका थिए । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिवलगायत अन्य पदाधिकारी चुन्न बाँकी छ। पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्