धनुषाको विदेह नगरपालिकामा विद्यार्थीद्वारा तालाबन्दी 



जनकपुरधाम : धनुषाको विदेह नगरपालिकामा विद्यार्थीहरुले तालाबन्दी गरेको छ । विदेह नगरपालिका वडा ६ तिनकौरिया चोक स्थित रहेको समुदायिक विद्यालय मावि गिद्धा बेलापट्टिका विद्यार्थीहरुले दुई बुंदे माग राख्दै नगरपालिका कार्यालयको मुख्यद्धार र कार्यालयको विभिन्न शाखामा तालाबन्दी गरेको हो ।

प्रधानाध्यापकको सरुवा बदर र विद्यालयको नाममा आएको रकम विद्यालयको खातामा राख्नुपर्नेपर्ने माग गर्दै विद्यार्थीहरुले नगरपालिकामा तालाबन्दी गरेपछि शुक्रवार बिहानैदेखि त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

करीब दुई महिनादेखि पटक पटक नगरपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापक पवन मण्डलबीच तनाव तथा विवाद हुँदै आएकोमा शुक्रबार विद्यार्थीहरुले प्रधानाधयपकको समर्थनमा नगरपालिका कार्यालयमा तालाबन्दी गरेको बताइएको छ ।

विद्यालयको विकासको लागि तथा विद्यार्थीहरुको छात्रवृति सहित विभिन्न शिर्षकको लागि नगरपालिकाको खातामा रकम आएपछि अहिलेसम्म विद्यालयको खातामा नदिएको कारण सेवा सुविधाबाट विद्यार्थीहरु बञ्चित भएको विद्यार्थीहरुको गुनासो छ ।

नगरपालिका मेयर बेचन दासले प्रअ मण्डलसँगको विवादबीचमा विद्यार्थीहरु पिसिएको भन्दै विद्यार्थीहरुले आफूहरुको सेवासुविधाबाट बञ्चित गर्ने अधिकार कसैको नरहेको भन्दै नगरपालिका कार्यालयको मुख्य गेट सहित कार्यालयमा पनि तालाबन्दी गरेको हो ।

यता मेयर दासले आफू जनप्रतिनीधिहरु एक कार्यक्रममा रहेको बेला विद्यालयका केही विद्यार्थी तथा बाहिरबाट मगाइएका केही उच्चश्रृंखल व्यक्तिहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको प्रतिक्रिया बताएका छन् ।

तालाबन्दीपछि प्रहरीले दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएपछि आक्रोशित विद्यार्थीहरुको भीडले प्रहरी चौकी समेत घेराउ गरेका थिए । प्रहरी चौकी घेराउ गरेपछि प्रहरीले तत्कालै पक्राउ गरिएका विद्यार्थीलाई रिहा गरेको थियो ।

प्रअ मण्डललाई अवैद्यानिक तथा स्थानीत तहको कानुन विपरित काज सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरु वैशाख महिनादेखि नै विरोध गर्दै आएका छन् । नगरपालिकामा गरिएको तालाबन्दी खुलाउनको लागि विद्यार्थीहरुको माग उपर छलफल भइरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्