थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइलनमा



काठमाडौँ : त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा प्रवेश गरेको छ । थ्री स्टार क्लबलाई हराउँदै आर्मी सेमिफाइलनमा पुगेको हो । पोखरा रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्लबलाई एक-शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि खेलको ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्