सिके राउतका कार्यकर्ताले गरे मेयरको गाडी तोडफोड



जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् ।

जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडका क्रममा मेयरसहित तीनजना घाइते भएका छन् । गाडीमा मेयर प्रसाईं र उपमेयर रेणुका पौडेल सवार थिए। जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको छ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्