डडेल्धुरामा वडा अधिवेशन सुरु, जिल्ला सभापतिद्वारा बहिस्कार



काठमाडौँ : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । यद्यपि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन बहिस्कार गरेको छ । मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् ।

करिब ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको बुझिएको छ । जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउदले सबै भ्रातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको बताए । जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राख्दा जिल्ला सभापतिले अस्वीकार गरेको साउनको भनाइ छ ।

सभापति मल्ल पक्षले क्रियाशील सदस्यता विवाद टुंग्याउनु पर्ने र केन्द्रले खटाएको निर्वाचन अधिकृत स्वीकार्य नहुने बताएको छ । साउदले भने जिल्लामा पुगिसकेको क्रियाशीलका विषयमा अनावश्यक विवाद झिकेको बताए ।

प्रतिक्रिया दिनुहोस्