मधेस प्रदेशमा ६ र प्रदेश १ मा ३ जनप्रतिनिधि अनुपस्थित



जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।
निर्वाचन अधिकृत पुष्पा झाका अनुसार बुधबार भएको निर्वाचनमा ६ मतदाता अर्थात् जनप्रतिनिधि अनुपस्थित रहे । प्रदेशमा ३६६ जनाले मतदान गरेका हुन् । यहाँ कुल मतदाता संख्या ३७२ रहेको छ ।
मधेश प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि निर्वाचन भएको हो । बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।
यहाँ दुई पदका लागि चारजनाको उमेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट पाँच दलका संयुक्त उमेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्दिकी छन् । अर्याल नेकपा (माओवादी केन्द्र)का हुन् भने सिद्दिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।
यस्तै, सुरुमा छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि गठबन्धन गरेका छन् । यही माघ ६ गते दुवै दलका प्रदेश अध्यक्षले संयुक्त उमेदवारका रूपमा रूपा यादव र उसमान अन्सारीको नाम सार्वजनिक गरेका थिए ।

प्रदेश १ मा तीन मतदाता पनि अनुपस्थित

यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश १ को मतदानमा तीन जना अनुपस्थित भएका छन् । प्रदेशमा ९२ जना प्रदेश सांसद र २७२ स्थानीय पालिका प्रमुख उपप्रमुख छन् । ती मध्ये ३ जना अनुपस्थित भएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् ।
विराटनगरकी उपमेयर इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन मतदानमा अनुपस्थित भएका हुन् ।
उपमेयर कार्की विरामी छन् । खातुन फौजदारी मुद्दाका फरार प्रतिवादी हुन् । श्रेष्ठ भने छोरीको विवाहका लागि काठमाडौंमा छन् ।
तीन पदका लागि आठ जना चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई छन् ।
नेकपा एमालेको तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । राप्रपाको तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्