नेपाल–चीन सीमा अध्ययन टोली हुम्ला पुग्यो



हुम्ला । हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला पुगेको छ । गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला पुगेको हो ।
सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल गरेको छ । टोली आइतबार लाप्चातर्फ लाग्ने टोलीका संयोजक आचार्यले जानकारी दिए ।
सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । सरकारले गठन गरेको समितिमा सात जना सदस्य छन्। समितिका सदस्यहरूमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।
समिति नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमास्तम्भसम्म पुग्ने तयारी छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण गरेको र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि हुम्लामा यसको विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्