सीमामा उजाड बन्दै नेपाल, हराभरा हुँदै भारत



पाँचथर : नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ । फाट्टफुट्ट रूखबाहेक भुइँमा मसिना झार मात्र देखिन्छन् । भएका केही रूखहरू पनि केही वर्ष मात्र टिक्लान् जस्तो देखिन्छ ।

कहाँ हराए यहाँका हरिया रूख र बहुमूल्य जडीबुटी भनेर यहाँ आउनेले यस्तै प्रश्न गर्छन्। फेरि भारततर्फ हेरियो भने एकदम हरियाली देखिन्छ । झांगिएका रूखै रूखले भरिएका छन् ।

जिल्लाको सीमा क्षेत्र उच्च पहाडी भेगमा पर्छ । जैविक विविधताको धनी मानिएको यो क्षेत्र दिनप्रतिदिन उजाड हुँदै गएको छ । यहाँ पाइने जडीबुटी तथा वन्यजन्तु हराउँदै गएका छन् । भारततर्फ हरियाली भएकाले वन्यजन्तु पनि त्यतैतिर सरेको अनुमान छ ।

भारतले सीमा क्षेत्रमा पर्ने वनलाई संरक्षण गरेर राखेको छ । पश्चिम बंगाल र सिक्किम प्रान्तमा पर्ने यस क्षेत्रमा नेसनल पार्क बनाएको छ । यहाँ रूख काट्न त प्रतिबन्ध छ नै भौतिक पूर्वाधार बनाउनसमेत मनाही छ । सिमानामा भएका सडक र सुरक्षा निकायका भवनहरू बाहेक नयाँ निर्माण गर्न पाइँदैन । वन क्षेत्रमा जथाभाबी प्रवेश पनि निषेध गरिएको छ ।

तर नेपालतर्फको भूभाग भने खुला छ । भारतीयहरू आएर सहजै नेपालका प्राकृतिक स्रोत साधनको उपभोग गर्छन् । भारतीय गाडीहरू निर्वाध गुड्छन् । नेपालको वन दिनप्रतिदिन उजाडिँदै गएको स्थानीय रामकुमार राई बताउँछन् । ‘नेपालतीर उजाड देखिँदै गएको छ । यति सुन्दर ठाँउको संरक्षण हुन सकिरहेको छैन,’ राई भन्छन्, ‘सीमा क्षेत्रमा सरकारी उपस्थिति छैन । घुम्न आउनेहरूको भीड लाग्छ । व्यवस्थित गर्ने निकाय छैन ।’

भारततर्फ सिंहलीला नेसनल पार्क र कञ्चनजंघा नेसनल पार्क बनाएर वनको संरक्षण गरिएको छ । भारतले निकै मेहेनत गरेर जैविक विविधताको संरक्षण गरिरहेको छ । तर नेपालतर्फको वन भने मासिँदै गएको छ । भएका जडीबुटी लगायतका वनस्पती पनि सहजै भारतीय बजारमा पुगिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्