महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा



काठमाण्डौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ ।

आयोगले उक्त परिमाणको राजस्व हानि गरेको ठहरसहित कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरी कारबाही माग गरेको हो ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी दोहन गरी उत्खननको मुद्दामा आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयन नगरी राजस्व हानि हुने गरी अर्को समितिले तयार गरेको प्रतिवेदनबमोजिम कारबाही गरेको पाइएकाले अनुसन्धानबाट दोषी ठहर गरिएको बताए ।

​ आयोगले कारबाहीको माग गरेकोमा महानिर्देशक घिमिरेसहित विभागका इन्जिनियर जयराज घिमिरे र उपसचिव सपना अधिकारीमाथि एक अर्ब २४ करोड ४५ लाख २६ हजार रुपियाँ बिगो कायम गरेको छ ।

आयोगमा उक्त अनियमितताबारे गत साउनमा उजुरी परेको थियो । प्रवक्ता भण्डारीले उक्त मुद्दामा आयोगले तदारुकतासाथ अनुसन्धान गरी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको बताएको खबर गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्