प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत



काठमाडौं । प्रदेश २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।
प्रत्येक आ.व.को आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधान रहे पनि प्रदेश सरकार गठन भएदेखि प्रथम पटक सर्वेक्षण प्रकाशित गरिएको हो ।
प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सिर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले बताए ।
सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरिबी निवारण, रोजगारी, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएको छ ।
कोभिड–१९ का कारण प्रदेश २ का मात्र नभई देश कै उद्योग पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ ।
प्रदेश २ मा आ.व. २०७७÷७८ मा कूल ग्राहस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०.२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो ।
सर्वेक्षणअनुसार राष्ट्रिय तहमा १३.३ प्रतिशत हिस्सा ओगटेको प्रदेश २ ले कोरोना महामारीमा पनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा १३.२ प्रतिशत योगदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्