कवर्डहल निर्माण अढाइ वर्षदेखि अलपत्र



 

बाजुरा – बाजुराको मार्तडीमा रहेको कवर्डहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिँदा बीचमै अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदानसमेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ । 

बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा अढाइ वर्षदेखि अलपत्र परेको छ । विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गर्नुभएको थियो भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गर्नुभएको थियो । 

निर्वाचन क्षेत्र विकास कार्यक्रमकै रु ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । प्राविधिकले पुरै निर्माण गर्न रु एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकूद विकास परिषद्बाट रु ४० लाख रकम पनि लगानी भएको छ । तर त्यो बाहेक थप लगानी लगाउन कसैले पहल नगर्दा अलपत्र अवस्थामा पुगेको खेलकूद विकास समितिले जनाएको छ । 

वडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले भने निर्माणका लागि आफूसँग सहकार्य नभएको र जिम्मेवारी दिन खेलकूद समितिले चासो नदेखाएको कारण नगरपालिकाले लगानी नगरेको बताउनुभएको छ । 

 

यो वर्ष रु २० लाख बजेट केन्द्रीय सरकारबाट छुट्याएर काम सञ्चालन गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले बताउनुभयो । बीचमा केही समय निर्माण रोकिए पनि यो वर्षबाटै निर्माणको कामले गति लिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्