बीपी प्रतिष्ठानका आन्दोलनरत पक्षलाई काममा फर्कन सरकारको आग्रह



काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिई काममा फर्कन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भइसकेका बताएको छ ।

बाँकी माग पूरा गर्दै जाने बताउँदै मन्त्रालयले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदासमेत सार्वजनिक गरेको छ । प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, मन्त्रालयका तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे अख्तियारले सबै कागजात लिइसकेको बताउँदै मन्त्रालयले सिनेट बैठकबाट उच्चस्तरीय छानबिन आयोग गठन गरिने भन्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्