दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानको मध्य भाग भेटियो



काठमाडौं : इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा संलग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन् ।

विमान दुर्घटना भएको छैठौं दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताए ।

भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उनको भनाइ छ । जहाजको मध्य भाग आफैंले नभेटेको तर उद्धारमा सम्लग्न अन्य गोताखोरले भेटेको बताउँदै उनले भनेका छन्, ‘१–२ दिनमा उक्त भागलाई बाहिर ल्याउने छ ।’

उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुवै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ ।

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित १८८ जना सवार थिए ।

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै विमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त विमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो ।

इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्