काठमाडाैंकाे भागदाैड भुल्न जानुस् दामन



काठमाडौं : काठमाडौं सहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ। जसको विकल्प बन्न सक्छ, दामन । 

मकवानपुरको अग्लो भूभाग पुग्न थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर दामन पुग्न सकिन्छ। काठमाडौंबाट गाडीबाट तीन घण्टामै पुग्न सकिन्छ दामन।

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत हिमाल हेर्न सकिन्छ। दुई हजार ६ सय ८८ मिटर उचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्युटावर पनि छ। 

राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवनलगायत तराई क्षेत्रबाट फरक हावापानीको अनुभव लिन दामन उक्लने युवायुवती बग्रेल्ती भेटिन्छन्। दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो।

थानकोटबाट चन्द्रागिरि हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ। दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । थाहा नगरपालिकामा पर्ने दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका आकर्षण हुन् ।

टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै यहाँ खर र छ्वालीले छाएका परम्परागत बस्तीहरु यथेष्ट भेटिन्छ्न् । दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा हजारौं श्रद्धालु आउँछन् ।

प्रतिक्रिया दिनुहोस्