कोरोनाको तेस्रो लहर : सप्तरीमा तीनको मृत्यु



सप्तरी : कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । रूपनी गाउँपालिका १ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए । यसअघि विष्णुपुर गाउँपालिका-७ का एक पुरूष र रूपनी गाउँपालिका-१ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

सप्तरीमा बुधबार पीसीआरका लागि १७ जनाले स्वाब दिएकामध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ९८ पुगेको छ । सबैको होम आइसोलेसनमा रहेको यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्