ह्वात्तै घट्यो चाँदीको आयात



काठमाडाैं : नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ। राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो।

एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो। तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ। भन्सार विभागबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। विभागको तथ्यांक अनुसार मङ्सिरदेखि नै चाँदी आयातमा कमी आएको छ । गत मङ्सिरमा पनि २९ करोड रुपैयाँको मात्रा चाँदी आएको छ।

त्यसभन्दा अघिल्ला महीनाहरू कात्तिकमा २ अर्ब ५ करोड, असोजमा ३ अर्ब ५१ करोड, भदौमा ४ अर्ब र साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आएको छ । समग्रमा चालू आवको ६ महीनामा १२ अर्ब ५७ करोडको चाँदी भित्रिएको तथ्यांक छ । पछिल्लो समय आयात बढी हुँदा नेपालसँग भएको विदेशी मुद्रा उच्च परिमाणमा बाहिरिने गरेको छ । तर, सोअनुसार विदेशी मुद्रा आर्जन हुन सकेको छैन। फलस्वरूप विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ ।

सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले चाँदी लगायत विलासिताका वस्तुको आयात गर्न एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो समाचार आर्थिक अभियानदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्