सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु



डोटी : डोटीको दिपायलको जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ। कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि यादवमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानबिन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ। छानबिन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाइएको परिषद्ले जनाएको छ। यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो। कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु भएको हो।

शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोसाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्