आणविक भट्टको विकिरणले क्यान्सर गराएको प्रमाणसहित मुद्दा



एजेन्सी : जापानमा सन् २०११ मा फुकिशिमा आणविक भट्टी पग्लिएपछि निस्किएको विकिरणका कारण आफूहरुलाई थाइराइड क्यान्सर भएको भन्दै ६ जना युवाले सो भट्टीविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले भट्टी संचालक टोकियो इलेक्ट्रिक पावर कम्प्नी (टीइपीसीओ) माथि कारबाही गर्नसमेत माग गरेका छन् ।

बिहीबार युवाहरुका तर्फका वकिलहरु टोकियो जिल्ला अदालतमा पुगेका थिए । भट्टीविरुद्ध मुद्दा दायर गर्ने क्रममा अदालतमा युवाहरुको पक्षमा फुकिशिमाका दर्जनौ मानिस उपस्थित भएका थिए । मानिसको स्वास्थ्यमा असरलाई लिएर आणविक भट्टीविरुद्ध पहिलो पटक मुद्दा हालिएको हो ।

सन् २०११ को मार्च ११ मा फुकुशिमामा शक्तिशाली भूकम्पपछिको सुनामीले आणविक भट्टी पग्लिँदा सो क्षेत्रमा मानिसहरु प्रभावित भएका थिए । अदालतमा मुद्दा दायर गर्ने क्रममा पीडितसहित सो क्षेत्रमा प्रभावित अन्य व्यक्तिहरु पनि उपस्थित थिए ।

विकिरणका कारण क्यान्सर भएका ६ जनाकै थाइराइड ग्रन्थीको शल्यक्रिया भएको उनीहरुका वकिलले बताएका छन् । पीडितले ६१ करोड ६० लाख जापानी यन क्षतिपूर्ति माग गरेका छन् । विकिरणका कारण फुकिशिमाको मानिसमा स्वाथ्यसम्बन्धी प्रत्यक्ष कुनै समस्या नभएको एक वर्षअघि राष्ट्रसंघको विज्ञहरुको एउटा टोलीले निस्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्