विद्रोहिको आक्रमणमा १० पाकिस्तानी सैनिकको मृत्यु



एजेन्सी : विद्रोहिको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परि दश सैनिकको मृत्यु भएको हो ।

सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो । पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातिय समूह बलुच विद्रोहिले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

गएको मंगलबार साँझ भएको सो घटनाबारे आज पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ । प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई आज सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ ।

घटनाको जिम्मेवारी बलुच लिवरेसन फ्रन्टले लिएको बताइएको छ । जातीय समूह बलुचले दशकौंदेखि अलग राज्यको माग गर्दै पाकिस्तानी सरकारविरुद्ध लडिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्