बढ्दो बलात्कार, किशोरीहरू जोखिममा




काठमाडौं- महिला तथा बालबालिकामाथि हुने यौनिक हिंसामध्ये ११ देखि १५ वर्ष उमेर समूहका किशोरी बढी प्रभावित भएको पाइएको छ । महिला हक अधिकार र सुरक्षाको लागि भन्दै दर्जनौं संस्था स्थापना भई रहँदा महिलामाथि हुने बलात्कारको घटना भने दिन प्रतिदिन बढेको तथ्यांक भेटिने गरेका छन् ।

चिनजान र नजिककै व्यक्तिबाट भएका बलात्कारका घटना प्रशस्तै मात्रामा बाहिर आउने क्रम अहिले बढेको छ । त्यस्तै अघिल्लो वर्षको भन्दा यो वर्ष बलात्कारका घटनाको संख्या बढेका छन् । काठमाडौं उपत्यकामा मात्र गत वर्ष असारदेखि फागुनसम्ममा ९१ जना महिला बलात्कृत भएका छन् । शिक्षित र सुरक्षाको क्षेत्र भनिएको राजधानीमा यति धेरै घटना हुनु आफैंमा अनौठो कुरा हो । राजधानी बाहिर पनि अवस्था उस्तै रहेको छ ।

गत आर्थिक वर्षको फागुनसम्ममा प्रहरीमा देशैभरि ७ सय ९५ वटा उजुरी दर्ता भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा भने १ सय ३१ वटा मात्र बलात्कारका घटना दर्ता भएका थिए । प्रहरीसम्म आएका घटनामात्र यति भए पनि बाहिर आउन नसकेका र पीडित र पीडकको सहमतिमा मिलाएका घटना पनि प्रशस्तै हुने गरेको अपराध अनुसन्धान महाशाखाका प्रहरी नायब उपरीक्षक रवीन्द्र शर्माले जानकारी दिए । कतिपय यस्ता घटना आफ्नै परिवारका नजिकका सदस्यबाट हुने भएकाले बाहिर नआउने गरेको शर्माको भनाइ छ । ५ वर्षभन्दा मुनिका साथै ६० वर्षभन्दा माथिका महिलासमेत बलात्कारको शिकार भएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बलात्कारसम्बन्धी घटनामा ३१ प्रतिशत १० वर्षमुनिका रहेका छन् भने १६ देखि १८ वर्षका ७ प्रतिशत बलात्कारका घटना भएका छन् । त्यस्तै, सबै भन्दा धेरै ११ देखि १५ वर्ष उमेर समूहका बालिका ६२ प्रतिशत रहेका छन् भने बाँकी त्योभन्दा बढी उमेर समूहका रहेको पाइएको छ ।

छिमेकी देश भारतमा भने १२ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरिएको छ । निरीक्षक शर्मा भन्छन्, ‘बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई कारबाही गर्ने कडाभन्दा कडा कानुन बन्ने हो भने यस्ता घटना धेरै कम हुँदै जाने छन् ।’

कतिपय घटना बाहिर नै आउँदैनन् भने कति आएका घटना पनि केही पैसामा नै मिलेर फर्किने गरेको पनि प्रहरीको भनाइ छ । यस्ता घटना जति लुकाउँदै गयो त्यत्ति नै बढ्ने भएकोले दोषीलाई कानुनको कठघरामा उभ्याउन सबैले सहयोग गर्नुपर्ने प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्