अन्नपूर्ण आधारशिविर पदयात्रा असोजबाट खुल्ने



गण्डकी । कोरोना संक्रमणका कारण बन्द गरिएको अन्नपूर्ण आधारशिविर पदयात्रा असोज पहिलो साताबाट खुल्ने भएको छ ।
कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो ।
विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले बताए ।
“पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं”, उनले भने ,“पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।”
कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पु¥याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ ।
गएको दुई वर्ष सो महोत्सव स्थगित भयो ।
कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए।
“विश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैन”, थापाले भने, “पर्यटक र व्यवसायीलाई सुरक्षित बनाउन चाँडो कोरोना विरुद्धको खोप व्यवस्था गरी थलिएको पर्यटनलाई उठाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्