५३ लाख हिनामिना गर्ने वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट पञ्चकन्या गाउँपालिका-२ की वडा सचिव सरिता राउतसहित तीन जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव राउत, कार्यालय सहयोगीद्वय रामकुमार गिरी र निलप्रसाद मिश्रविरुद्ध आज विषेश अदालतमा मुद्दा दायर गरेको हो । यद्यपी सोहि प्रकरणमा धु्रवप्रसाद मिश्रलाई भने उन्मुक्ति दिइएको हाे । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रूपमा हराएको घटनामा परेको उजुरीमाथि अनुसन्धान हुँदा उनीहरूको बदनियत देखिएकाले आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाए ।

उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५९१० एवम् भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्