बस, माइक्रो र टेम्पोमा जोरबिजोर हट्यो



काठमाडौँ । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा लागू गरिएको जोबिजोर प्रणालीमा स्थानीय प्रशासनले केही सहजता ल्याएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले
सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताए । यसअघि जारी आदेशका अन्य प्रावधानलाई भने निरन्तरता दिइएको उनले बताए ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्