कतारी राजदूतद्वारा बाख्रा फार्मको अवलोकन



पूर्वी नवलपरासी । नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैलले शुक्रबार पूर्वी नवलपरासीस्थित दुई वटा निजी बाख्रा फार्म अवलोकन गरेका छन् । शुक्रबार कावासोती नगरपालिका वडा नम्बर १७ बभनौली आएका राजदूत यूसुफ बिनले आदित्य कृषि फार्म र सर्फाज एग्रो फार्म अवलोकन गरेका हुन् ।
राजदूतले कतारमा केही वर्ष काम गरेर फर्किएका नवलपरासीका किरण काफ्लेले सुरु गरेको बाख्रा फार्म सुरुमा अवलोकन गरेका थिए। यहाँ काफ्लेले बयर र खरी जातका बाख्रा पालन गरेका छन् । अवलोकन भ्रमणको क्रममा राजदूतले बाख्रा फार्मप्रति चासो राख्दै संचालक किरणसँग सोधेका थिए, ’कतारमा र यहाँ के फरक पायौ ?, कस्तो छ प्रगति ?’
राजदूतले नजिकै रहेको नेपालकै ठूलो मानिने सर्फाज एग्रो फार्म पनि अवलोकन गरेका थिए । त्यहाँ उन्नत जातका करिब ४ सय बाख्रा पालन गरिएको छ । राजदूतको बाख्रा फार्म अवलोकनलाई निजी भ्रमण भनिएको छ । यद्यपि उनी शुक्रबार अचानक कार्यालयको सवारी साधनबाटै नवलपरासी आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्