बाँकेमा २१ वटा घर विपन्नलाई हस्तान्तरण



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ वटा घर गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । एक करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएका सामूहिक आवास शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले महासचिव शंकर पोखरेलले एक कार्यक्रमकाबीच भवन हस्तान्तरण गरेक । २१ वटा घर मध्ये गत वर्ष निर्माण भएका १६ वटा घरमा विपन्न परिवार बस्न थालेका हुन् ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले तराई समृद्धि कार्यक्रम अन्तरगत १ विघा जमिनमा निर्मित २१ वटा घर निर्माण गरेर विपन्न नागरिकलाई हस्तान्तरण गरिएको बताए । गाउँपालिकाका सबै विपन्न नागरिकलाई सुरक्षा र जीविकोपार्जनमा गाउँपालिका सारथी बन्दै आएको उनको भनाई छ ।
अध्यक्ष कक्षपतिले संघ र प्रदेश सरकारको सहयोगमा गाउँपालिकाभित्र मदन भण्डारी सभा हल, शीत भण्डार, औद्योगिक ग्राम, खेलकुद ग्राम, मिनी रंगशाला, १५ शैयाको अस्पताल, स्वास्थ्य चौकी, विश्व विद्यालयका लागि जग्गा उपलब्ध, ग्रीन सिटीको प्रक्रिया अगाडि बढाएको जानकारी दिए । यस्तै करिव ८५ किलोमिटर सडक कालोपत्रे लगायतका गौरवका आयोजना सञ्चालनमा रहेको कक्षपतिले बताए ।

प्रतिक्रिया दिनुहोस्