आहा रारा गोल्डकपकाे उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै



काठमाडौं : २०औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्याङ्दी क्लब भिड्दैछन्। यस पटकको उपाधिका लागि ६ पटक च्याम्पियन बनिसकेको मनाङसँग १४ वर्षपछि फाइनलमा पुगेको एपीएफको पहिलो भेट भएको हो।

फाइनल खेल पोखरा रंगशालमा दिउँसो २ बजे  हुनेछ। विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । मनाङले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ गोलले विजयी हुँदा फाइनलमा एपीएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो ।

आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् । पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको बताएका हुन् ।

त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो प्रदर्शन गर्न दबाब रहेको बताए। उनले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि बताएका छन् । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्