रामपुरको ‘मिनी फेवाताल’ पर्यटकको प्रतीक्षामा



पाल्पा । कोरोना महामारीका बाबजुद पाल्पाको रामपुरमा अवस्थित तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन् ।
ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।
एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ । डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउँछन् ।
मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको उनले बताए । अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा’ । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदीप पाण्डेयले बताए ।
प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउँछन् तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । ’एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ,’ अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा ३ करोड ५० लाख रुपैयाँ बढी रकम खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्