सत्ता गठबन्धनको सिन्डिकेट तोड्नु पर्छ : प्रभु साह



रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले देशमा बढ्दो राजनीतिक संकटलाई रोक्न आन्दोलनको विकल्प नभएको बताएका छन् । नेता साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्न पनि सडक आन्दोलनको आवश्यकता भैसकेको बताए ।
शनिबार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको आरोप लगाए । उनले समयै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताए ।
पूर्व मन्त्री समेत रहेका साहले भने,‘सत्ता गठबन्धनले आफु अनुकूल निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको छ ।’ चुनावका लागि निर्वाचन आयोगले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसकेको उनको आरोप थियो ।

नेता साहले गठबन्धनको सिण्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलनबाहेक कुनै विकल्प नरहेको बताए । जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार एवम् लुटआतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए ।
‘अहिले तपाईहरु देख्नसक्नुहुन्छ, अवसरवादीहरुको गद्दारी र झालझेल एवम् षडयन्त्रबाट अदालतको सेटिङमा जुन दलाल गठबन्धनको सरकार जन्मिएको छ यसले संस्थागत रुपमा भ्रष्टाचार र लुट–आतंकलाई बढावा दिएको छ । खुलेआम कालोबजारी मौलाएको छ, महङ्गी बढेको छ जसले गरीब मजदुर किसानको जीवनलाई झन कष्टकर बनाउदै गएको छ । विकाआ निर्माणका कार्य ठप्प भएको छ,’ नेता साहले भने, ‘गठबन्धनले बढाएको यस्ता विकृतिहरु रोक्दै विकासको कार्य अगाडि बढाउन अब आन्दोलनको विकल्प छैन ।’नेता साहले आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, अच्युत मैनाली, राजकुमार लेखी, केन्द्रीय सदस्य एवम् रौतहट ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरु कुन्दन कुश्वाहा, उद्धव रेग्मी, मधेश प्रदेशकी उपसचिव आरती भण्डारी, प्रदेश सदस्य एवम् महिला नेतृ मौलापुरकि मेयर रीना साह, जिल्ला अध्यक्ष त्रिभुवन साह, सचिव बालबिक्रम कार्की, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् एमाले जिल्ला सदस्य निवेश यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्