इन्द्रजात्राका लागि लिङ्गो हनुमान ढोकासम्म पुर्‍याइयो



काठमाडौं । असोज ३ गते काठमाडौँमा मनाइने इन्द्रजात्राका लागि भोटाहिटीदेखि हनुमान ढोकासम्म लिङ्गो पुर्‍याइएको छ ।
१०ः३४ को साइतमा लिङ्गोलाई नगर प्रवेश गराइएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि औपचारिक रुपमा जात्रा शुरु हुन्छ ।
इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो ।
१२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।
सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्