बागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने



काठमाडौं । चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११ औं तहको सचिव रहने सांगठनिक संरचना तयार गरेको बताइन् । ‘अहिले क्याबिनेबाट पास भइसकेको छ, अब लागु हुन्छ,’ उनले भनिन् ।
यसअघि बागमती प्रदेशको मन्त्रालयले बनाएको प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राजपत्रांकित प्रथम तहको सचिव रहने उल्लेख थियो । पौडेलका अनुसार मन्त्रालयको अन्य कुनै पनि संचरनामा परिवर्तन गरिएको छैन ।
स्वास्थ्य सचिवमा ११ औं तहको स्वास्थ्य सेवाको अधिकारी रहने व्यवस्था गरिएको छ ।
यस्तै, मन्त्रालयमा ९र१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्