लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी उजुरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता भएको छ ।
लुम्बिनीका सांसद विमला कुमारी खत्रीले साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् ।
उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन् ।
रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले खत्रीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे ।
खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन् ।
उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्